Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

काठमाडौंको आडैमा लुकेको दुःख :

विद्यालय जान हरेक दिन ४ घण्टा उकालो ओरालो पैदल हिँड्छन् यी दिदीबहिनी !

  • सन्ताेष देउजा
  • शनिबार, कार्तिक ९, २०७६
विद्यालय जान हरेक दिन ४ घण्टा उकालो ओरालो पैदल हिँड्छन् यी दिदीबहिनी !

भट्टेडाँडा । काठमाडौं सहर, धेरैको भाग्य र भविष्य निर्माण गर्न र गराउन सफल कोलाज सहितको उपत्यका । यहि उपत्यकालाई आफ्नो वरिपरी बेरेर बसेको पहाडहरु मध्येको एउटा पहाडी बस्ती ।

उपत्यकादेखि मोटरमा जम्मा १ घण्टा । शिरको टोपी नै खस्ने अग्ला भिर, खुट्टाका पैताला गलाईदिने चट्टानी मार्ग र निदारका पसिना चुहाईदिने उकालो । ललितपुरको बागमती गाउपालिका भट्टे डांडांबासीको दैनिकी नै हो ।

विहानको ५ बजेको छ । भट्टेडाँडांमा उपत्यका भन्दा छिट्टै सुर्यादय हुन्छ । करुणा र करिश्माको उठ्ने बेला भएको छैन । बेलुका अबेरसम्म विद्यालयको गृहकार्य गरेर सुतेपछि उनीहरु ब्युझिँदा विहानको ६ बज्छ । बुवा आमाको दैनिकी सुरु भइसक्यो । भालेको डाँकोले करुणालाई ब्युझाँयो ।

करुणा र करिश्माका अरु २ बहिनी पनि छन् । बुवा देवीप्रसाद तिमिल्सिना र आमा कल्पना खेती गृहस्थी गर्छन् । गाई भैंसी पालेर दूध उत्पादन नै यो परिवारको मुख्यको आयस्रोत हो ।

करुणा र करिस्मा क्रमशः कक्षा १० र ९ मा छिमेकी कोन्ज्योसोम गाउँपालिकाको गोठ भन्ज्याङ्ग माध्यमिक बिद्यालयमा पढ्छन् । विहानको साढें सात नबज्दै उनीहरु स्कुलका लागी तयार हुन्छन् । प्रत्येक दिन यी दुई दिदीबहिनी ४ घण्टा पैदल हिँडेर विद्यालय जाने आउने गर्छन् ।

करुणा र करिश्मा विहानै स्कुल हिडें । उनीहरुको घरैबाट स्कुल देखिन्छ । हामीले उनीहरुलाई आज दिनभर पछ्याउँदै छौं । बाटो अति नै जोखिमपूर्ण र जंगल क्षेत्र । उकालो भिरालो । गिगेरु ।

झण्डै अढाई घण्टा पछि हामी दिदीबहिनीसँगै उनीहरु पढ्ने ललितपुर कै कोन्ज्योसोम गाउँपालिकाको गोठ भन्ज्याङ्ग माध्यमिक बिद्यालय आई पुग्यौं ।

दिदि बहिनी कक्षा कोठा पुगेपछि छुट्टिए । यो विद्यालयमा करुणा र करिश्मा जस्तै दैनिक आधा घण्टा बढि हिडेर पढ्न आउने ७५ प्रतिशत बिद्यार्थी रहेका प्रधानाध्यापक गंगाराम मगरले जानकारी दिए ।

बेलुकाको ४ बज्यो । स्कुल छुट्टी भयो । करुणा र करिश्मा अरु साथी जसरी विद्यालयम भुल्न पाउँदैनन् । उनीहरुलाई छुट्टीको घन्टी बज्न साथ घर फर्कनै हतारो हुन्छ ।

दलचोकीको उकालो लागेपछि थोरै मोटर बाटो पर्छ । तर, निजि बाहेक सार्वजनिक सवारीका साधन चल्दैनन् । करिब १५ मिनेट हिँडेपछि दिदी बहिनी एक्लै भए । बाटो सुनसान छ । साँझ पर्न साथ तुवालोले घेरि हाल्छ । मौसम चिसो छ । मखमलको पछ्यौरीले कान न्यानो बनाएर दिदी बहिनी एक सुरले घर फर्किन्छन् ।

जतिसक्दो उज्यालो मै उनिहरुलाई घर पुग्नु छ । करुणा र करिश्माका घर नपुगुन्जेल बुबा आमाको आँखा बाटो तिरै हुन्छ । मौसम सफा भए, तुवालो नलागे झण्डै एक घण्टाको बाटो बाँकी छँदा घरैबाट उनीहरुलाई देखिन्छ ।

करुणा र करिश्मा हिँड्दा हिड्दै सुर्य अस्ताईसक्यो । साँझ परिसक्यो । हिजो आज लामो दिन हुँदा समेत उनीहरु हिड्दा हिँड्दै झमक्क भयो ।

उनीहरु घर आईपुगे । बुबा देवीप्रसाद सहरबाट ल्याएको गाई भैसीको दाना ओसार्दै छन् । आमा गोठमा बस्तुभाउ स्याहादैंछिन् । बहिनीहरु साँझ बत्ती बाल्दैछन् । अघि पछि साँझमा हजुर आमाले खाना बनाउनुहुन्थ्यो । आज उहाँ हुनुहुन्न । त्यसैले ४ दिदी बहिनी र अंकलकी छोरी बेलुकाको छाकका लागि आलु र बरेला काट्न थाल्छन् ।

केहीबेरमा कराई भरी दूध ल्याएर आमा कल्पनाले अगेनामा बसालिन् । आगो फुक्दै करुणा केहीबेर हामीसँग गफिन् । यो बीचचमा दूध उम्लिएको पत्तै भएन । ज्या दुध सबै उम्लिएर गयो । पोखिएको दूधले दनदनी बलेका दाउरा निमेषभरमै निभे ।

काम धन्दा सकेर करुणाका बुबा देवीप्रसाद हामी नजिकै आए । ०४१ सालमा जन्मिएका देवीप्रसाद उमेर भन्दा निक्कै पाका देखिन्छन् । श्रीमती कल्पना पनि सोही सालकी । देवीप्रसादले तालु भासिने गरी र कल्पनाले कुर्कुचा फुट्ने गरी छोरीहरुको पढाईका लागी गरेको संघर्ष साँच्चै मनै छुने छ ।

उबेला दही, दूध खान पाईने लोभले देवीप्रसादका हजुरबुबाहरु सुगम ठाउँ छाडेर भट्टेडाँडामा उक्लिएका रहेछन् । त्यहाँबाट सुरु भएको यो परिवार दुःखको कथाले करुणा र करिश्मालाई समेत त्यसै भित्रको पात्र बनाईरहेको छ । विहान सबेरै घर छाडेर हिँडेका छोरीहरु बेलुका नफर्किए सम्म देवी प्रसाद र कल्पनाको मनमा चिसो रहिरन्छ ।

नेपालमा बेला बेला हुने गरेका बलात्कार, हत्या, अपहरणका घटनाले देवी प्रसादलाई बेचैन नै बनाउँछ । छोरीलाई पढाएर केही हुन्न भन्ने सोच राख्ने अहिले पनि नेपाली समाज छ । तर, करुणा र करिश्माका आमा बुबाको त्यस्तो सोच कहिल्यै भएन । आफूले पढ्न नपाए पनि छोरीहरुले राम्रोसँग पढिदिए हुन्छ ।

गाउँमा नजिकै स्कुल नहुँदा माध्यमिक शिक्षाका लागि आउन जान प्रायः सुनसान हुने बाटो दैनिक ४ घण्टा हिँडाएर छोरीहरुलाई विद्यालय पठाउन आमा कल्पनाको मन कत्ति पनि मान्दैन ।

करुणा र करिश्मा मुनिका २ बहिनी पनि आधारभूत शिक्षा पछि यति नै समय हिँडेर गोठ भन्ज्याङ मावि पुग्नु पर्नेछ । आफूले जति दुख बेहोरे पनि बहिनीहरुले कष्ट सहन नपरोस् भन्ने करुणाको चाहाना छ ।

जंगल बाटो, एकान्त ठाउँ हिड्दा यी दिदीबहिनीलाई जंगली जनावर भन्दा मान्छेकै बढि डर लाग्छ । करुणा र करिश्माको निर्वाचन क्षेत्रबाट पूर्व डिआईजी नवराज सिलवालले प्रतिनिधिसभा निर्वाचन जितेका छन् ।

सिलवाल र देशका शक्तिकेन्द्रमा बसेकाहरुसँग यो दिदी बहिनीको धेरै ठूलो भने अपेक्षा छैन । विद्यालय नजिकै होस् । पढ्नका लागि यसरी हरेक दिन जोखिम मोल्न नपरोस् ।

देशकै राजधानी काठमाडौंबाट एक घण्टामा पुगिने यो पहाडी बस्तीका दिदीबहिनी यो ठाउँका प्रतिनिधि पात्र मात्रै हुन् । नेपालमा यस्ता धेरै ठाउँहरु छन्, कतै छोरीहरुलाई शिक्षाबाट बञ्चित गरिएको छ, कतै चाहाना हुँदाहँुदै पनि शिक्षामा सहज पहुंच छैन् भने कतै कठिन संघर्षका साथ शिक्षा हासिल गर्नुपरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology