Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

एउटा आम मान्छे :

पूर्व मन्त्री गोविन्द, जो स्याहार्दै छन् गाउँमा गाई

  • किरण पौडेल
  • आइतवार, कार्तिक ३, २०७६
पूर्व मन्त्री गोविन्द, जो स्याहार्दै छन् गाउँमा गाई

आजभोली पूर्वमन्त्री गोठधन्दामा व्यस्त छन् । उनले गाई पालेका छन् । गोबर सोर्हछन् । बाख्रा पालेका छन् । उनले व्यवसायिक रुपमै गाईबाख्रा पालेका भने होइनन् । विहान बेलुकाको छाक टार्नको लागि पनि गोठधन्दा गर्नै पर्ने बाध्यता छ, २०५६ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारका श्रम राज्यमन्त्री गोविन्दनाथ उप्रेतीलाई ।

गोबरले पोतिएका चप्पल । मैलो पाईन्ट । चिसो छेक्ने कोठे सर्ट । फुलेको सेता कपाल । त्यो पनि आधाउधी झरेको । पावरवाल चस्मा । अनि ६९ वसन्त पार गरेको बुढ्यौली शरीर । भूकम्पले भत्काएपछि बनाइएको दुइ कोठाको सामान्य पक्की घर । घरमा मात्रै दुई जना श्रीमान श्रीमती ।

उच्च ओहोदामा बसेकाले मात्रै नभएर उनका आफन्तसँगै आसेपासेले समेत राज्यबाट भरपुर लाभ लिने नेपालमा पूर्वमन्त्री उप्रेती भने एक उदाहरणीय पात्र हुन सक्छन् । २००७ सालमा काभ्रेको भुम्लुमा उनको जन्म भयो । तारानाथ उप्रेती र नन्दकुमारी उप्रेतीका १३ भाई छोरा मध्ये गोविन्दनाथ एक हुन् । उनले १४ वर्षको उमेरबाटै राजनीति गर्न थाले ।

सानैबाट उनी निडर स्वभावका थिए । अन्याय सहनै नसक्ने । कोही अन्यायमा प¥यो भने उनी आफैं अघि सर्थे । टोल छिमेक हुँदै उनले जिल्लाको नेतृत्व लिए । तर, तानाशाही व्यवस्था भएको बेलामा राजनीति गर्न निकै गाह्रो थियो ।

जनताकाे सेवा गर्छु भन्दा उनले लामो समय जेल जीवन बिताउन पर्यो । तानाशाही व्यवस्थाविरुद्ध लडेको आरोपमा उनी १२ पटक सम्म जेल परे । घर परिवारको उनलाई कत्ति डर थिएन । व्यवस्थाविरुद्ध नै आन्दोलन नगर भनेर धेरैले भन्दा पनि उनी मानेन ।

जेलबाट छुटेपछि उनी फेरी जनताको घरदैलोमा पुग्थे । आफूलाई मनमा लागेको कुरा बोल्न समेत नपाइने बेलामा उनी निस्फिक्री बोल्दै हिड्थे । उनले लामो समय विवाह गरेनन् । जनताको दुःख र सुखसँग खेल्दाखेल्दै उनले पारिवारिक सुखको स्वाद समेत बिर्सिसकेका थिए । पछि परिवारको दबाबमा ५० वर्ष कटेपछि बल्ल बिवाह गरे ।

परिवारको लामो कसरतपछि विद्या उप्रेतीसँग उनको विवाह भयो । तर सन्तान भने हुन सकेनन् । अहिले दुहुनो गाई, बाख्रा विद्या र गोविन्दनाथका बुढेशकालका सारथी हुन् । काभ्रेली जनताको माया त छँदैछ, बुढेशकालमा सन्तानको अभाव त हुँदो हो तर, पूर्वमन्त्री गोविन्दनाथ उप्रेती व्यक्त गर्दैनन् ।

निसन्तान हुँदा गोविन्दनाथले सन्तुष्ट देखिएपनि उनकी श्रीमती विद्या उप्रेतीलाई सन्तानको अभाव खड्कीन थालेको छ । विद्यालाई मन्त्री क्वाटरदेखि कांभ्रेको पाखामा बसेकोसम्म अनुभव छ । तर, उनी पनि परिस्थिती अनुसार आफूलाई ढाल्न सक्ने भएकी छन् । उमेरमा राजनीति गरेर हिडेपनि बुढेशकालमा सन्तानको साथको महशुस उनलाई हुन लागेको छ । तर, पनि उनले सधैं गोविन्दनाथलाई सहयोग गर्दै आइरहेकी छन् ।

कोशीपारी जिल्लामा अहिले पनि उनी लोकप्रिय छन् । आफ्नो क्षेत्रका जनताको पिरमर्का बुझ्न उनी जनजनमा पुग्थे । हक्की स्वभावका उनी जनताकै लागि ‘पञ्चे’ ‘मण्डले’सँग लड्थे । उनले भोकमरीमा परेका जनताको लागि चामल बोकेको ट्रक समेत लुटे । कोशीपारीका जनताको मनमनमा छन् गोविन्दनाथ ।

पूर्वमन्त्री गोविन्दनाथले पदममा नभएकै बेला पनि धेरै विकास निर्माणका काम गरे । काभ्रेको दोलालघाट चौरीगुँरासे सडकखण्ड उनकै पहलमा बन्यो । काभ्रेकै भुम्लुटार गाउँपालिका वडा नम्वर ८ को प्रकाश उच्चमावी र दोलालघाटको दुलालेश्वर उच्चमावी उनकै देन हो ।

उनले मन्त्रालयल सम्हाल्दा पनि निकै लोकप्रिय काम गरे । जनताको विपक्षमा हुने सबै षड्यन्त्रलाई चिर्दै गोविन्दनाथ अगाडी बढेका थिए । उनले गरेको कामको अहिले पनि प्रशासनिक तहमा चर्चा हुने गरेको छ ।

जननिर्वाचित सरकार ढालेर मुलुकमा पञ्चायत व्यवस्था सुरु भयो । त्यही ‘पञ्चे’ ‘मण्डले’हरुको विरुद्धमा लड्दा उनी साढे तीन वर्ष जेल परे । पञ्चायतलाई ढाल्ने गरी नेपाली जनता फेरी एक पटक सडकमा उत्रिए । अनी भयो, २०४६ सालको जनआन्दोलन । पञ्चायत व्यवस्थाविरुद्धको जनआन्दोलनले दरबारलाई घुँडा टेकायो । जनताको जित भयो । नेपालमा प्रजातन्त्र आयो । स्वतन्त्ररुपमा पञ्चायतविरुद्ध लडेका गोविन्दनाथ पनि अब कम्युनिष्ट पार्टीमा लागेर राजनीति गर्ने भए ।

कम्युनिष्ट विचारबाट प्रभावित भएका उनी नेपाल कम्युनिष्ट पार्टी एमालेमै रहेर जनताको सेवा गर्न थाले । उनले पार्टीसँग संगठनको जिम्मेवारी कहिल्यै मागेनन् । आएका अवसरलाई पनि लत्याउँदै अघि बढे ।

उनी संगठनमा बसेर पार्टीको काम गर्न भन्दा जनप्रतिनिधि भएर जनताको सेवामा लाग्न रुचाउछन् । अहिले पनि गोविन्दनाथ सत्तारुढ दल नेकपाको साधारण सदस्य मात्रै हुन् । एमालेमा रहेरै काम गर्दैगर्दा नेतृत्वसँग मत बाझियो ।

उ बेला बामदेव गौतसँगै नेपाल कम्युनिष्ट पार्टी एमाले फुटाएर माले जन्माउने मध्येकाका एक हुन् गोविन्दनाथ उप्रेती । पछि बामदेवहरु फेरी पुरानै घर एमालेमा फर्किए । तर उनि भने फर्किएनन् । एमालेमै फर्किनुको औचित्य नदेखेपछि उनी फेरी स्वतन्त्र बने र जनताकै सेवा गर्न थाले ।

त्यही बेलामा उनलाई नेपाल कम्युनिष्ट पार्टी माओवादीले सुरु गरेको आन्दोलनले तान्यो । उनी सुसुप्त रुपमा माओवादी बने । उनको लोकप्रियताका कारण नै माओवादीले संगठनको जिम्मेवारी दिन खोज्यो । उनले त्यो पनि नकारे ।

मात्रै शुभेच्छुक र सहयोगीको रुपमा काम गरे । त्यसो त बाम राजनीतिमा लाग्नु पूर्वनै उनी काभ्रेमा लोकप्रिय थिए । कुनै पार्टी वा समूहमा लागेर राजनीति गरेका राजनीतिज्ञ भन्दा काभ्रेमा उनको लोकप्रियता कम थिएन । अहिले पनि जिल्लावासीको मनमा छन् ।

तत्कालीन सरकारसँग माओवादीले छेडेको लडाइँ, युद्धको रणनीति, सरकारी दमन सबै गोविन्दनाथले बुझेका थिए । ढल्कदै गएको उमेरको पनि हेक्का थियो उनलाई । त्यसैले घरमै बसेर सहयोग गर्ने निधो गरे ।

पार्टीका कमाण्डरहरु दिन बिराएर उनको घरमा सेल्टर लिन आइपुग्थे । युद्ध, जनताको मुक्ति, जनताको शासन, तानाशाही भनिएको सरकारको दमन लगायतको बारेमा रातभरी गफ हुन्थ्यो ।

उनको अगुवाईमा उनकै घरमा हुने गतिविधिको बारेमा तत्कालीन सरकारले सुइँको पायो । सुप्रिम कमाण्डर प्रचण्ड, बाबुराम लगायत शिर्ष नेताकोसँगै उनको पनि टाउकोको मूल्य तोकियो ।

टाउको मूल्यनै तोकिएपछि उनी आफैं सार्वजनिक भए । सार्वजनिक मात्रै भएनन् उनले तत्कालीन शाही सेनालाई समेत चुनौति दिए । ‘मै हो गोविन्दनाथ उप्रेती, मेरो टाउको मूल्य ३५ लाख हो । ‘मलाई गोली ठोक’ भन्दै प्रशासनकै अगाडि सार्वजनिक भएको उनी अहिले पनि सम्झन्छन् ।

पछि पार्टी शान्ति प्रक्रियामा आयो । आफ्ना सबै कमाण्डर सार्वजनिक भए । उनलाई भेट्न पार्टी अध्यक्ष प्रचण्ड आफैं आएका थिए । क्रान्तिमा होमिएको इमान्दार योद्धाको रुपमा उनलाई पार्टी सम्मान समेत गर्याे ।

जनताको घरदैलीमो पुग्ने क्रम अहिले पातलिंदै गएको छ । स्थानीय जनतासँग चन्दा उठाएर किनेरको गाडी अहिले त्यसै सार्वजनिक ठाउँमा मिल्लेको छ ।

गाडी बनाउन पनि लाखौं खर्च लाग्ने भएपछि जनताको किन्दिएको गाडी जनताकै अगाडि नष्ट हुँदैछ । उनी घरमै बसेर दिन काट्ने गरेका छन् । तर पनि उनी भने पार्टीले आफ्नो योगदानको कदर गर्नेमा विश्वस्त छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology