Nepal Chitra

मङ्लबार, मंसिर २४, २०७६

Trending Now

ब्लग :

रंगशाला निर्माणमा किन यस्तो व्यवधान ?

  • किरण पाैडेल
  • शुक्रबार, जेष्ठ ३१, २०७६
रंगशाला निर्माणमा किन यस्तो व्यवधान ?

काठमाडौं । क्रिकेट खेलाडी, यसका व्यवस्थापक, खेलप्रेमीहरुले नेपालले एक दिवसिय अर्थात ओडिआईको मान्यता पाइसकेको अवस्थामा अब नेपालमा पनि कम्तिमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाहिन्छ भन्ने माग बढ्न थाल्यो । सरकारले बहुवर्षीय योजनाहरुमा सुविधासम्पन्न रंगशालाका योजना समेटेपनि त्यो अपेक्षाकृतरुपमा अघि बढ्न सकेको थिएन ।

सोही अवस्थामा विपद्मा परेका नागरिकका लागि एकीकृत बस्ती निर्माण गरेर प्रशंसा बटुलेको धुर्मुस–सुन्तली फाउण्डेशनले यसमा चासो देखायो । र आफूले अघि सारेको नमूना नेपालको महत्वकांक्षी प्रोजेक्टलाई थाँती राख्दै अर्को महत्वकांक्षी प्रोजेक्टको घोषणा गर्यो । यसरी रंगशाला निर्माणको अभियान सुरु भएको थियो ।

जति सहज ठानिएको थियो त्यसअनुरुप काम हुन नसकिरहेको पछिल्ला घटनाहरुबाट प्रतित हुन्छ । त्यसै पनि ३ अर्बको महत्वकांक्षी प्रोजेक्टलाई पूर्णरुप दिनु धुर्मुस सुन्तली फाउण्डेशनलाई फलामको चिउरा चपाए सरह थियो नै । रंगशालाको शिलान्यास समेत भइनसकेको अवस्थामा निर्माणस्थल रामपुरका स्थानीयलाई चित्त बुझाउन नसक्दा थप व्यवधान आइपर्यो ।

फलस्वरुप फाउण्डेशनले रंगशाला निर्माणस्थललाई घेराबन्दी गरेको जस्तापाताको बार जेठ १५ गते स्थानीयले भत्काइदिए । र यसले रंगशाला नबन्ने हो कि भन्ने शंका उत्पन्न गर्यो । आफ्नै सक्रियतामा आफ्नै गृहजिल्ला, त्यो पनि आफैंले निर्वाचन जितेको क्षेत्रमा जुनसुकै हालतमा रंगशाला बन्नुपर्छ भन्नेमा प्रचण्ड दृढ छन् । यसलाई प्रचण्डले व्यक्त गरेको संसयले पुष्टि गर्छ ।

रंगशालाको निर्माणलाई सरकारले पनि महत्वका साथ अघि बढाउने प्रचण्डले बताइरहँदा धुर्मुस सुन्तली फाउण्डेशन भने चितवन बाहिर छ । र त्यहाँ अहिले काम समेत ठप्प छ । प्रचण्डले घुमाउरो पारामा चन्दा उठाएर धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला बनाउन नसके सरकारले बनाउने भनेका छन् ।

धुर्मुस सुन्तलीले रंगशाला निर्माणका लागि आवश्यक रकम अपेक्षा अनुरुप उठाउन नसकिरहेको भनेर टाउको दुखाइरहेका बेला प्रचण्डको यस्तो भनाइ बाहिर आउनुका पछाडि कतै प्रचण्डले यो प्रोजेक्टमा पनि जस लिन चाहिरहेका त छैनन् ? किनकी यो उनकै निर्वाचन क्षेत्र हो ।

चितवनमा प्रचण्डको बढ्दै गएको लोकप्रियता र भइरहेका विकास निर्माणका काम तीव्र गतिमा भइरहेका छन् । कतै यो अर्को निर्वाचनका लागि मतदाता फकाउने प्रचण्डको मास्टर प्लान त हैन ? धेरैले यसतर्फ पनि शंका व्यक्त गरेका छन् ।

गतदेखिका प्रचण्डका गतिविधि नियाल्दा त्यसरी प्रश्न गर्ने ठाउँ पनि आउँछ । तर, रंगशाला निर्माणको सवालमा पछिल्लो अवरोध प्रचण्डको भन्दा पनि स्थानीयको मुद्दाले हो भन्ने जेठ १५ को घटनाले पुष्टि गर्छ ।

प्रचण्ड र उनकी छोरी रेणु दाहालकै जोडबलमा विश्व विद्यालयलाई समेत मनाएर रंगशाला बनाउन रामपुरमा रहेको विश्वविद्यालयको जग्गा छुट्याइएको थियो ।रामपुरको कृषि, वन विज्ञान विश्वविद्यालयबाट जग्गा प्राप्त भैसकेपछि धुर्मस सुन्तली फाउण्डेशनले २० विगाहा ६ कठ्ठा जग्गामा जस्तापाताको बार लगाउन सुरु गर्यो । तर, दक्षिणतर्फ बार लगाउन खोज्दा भने ७ मीटरको बाटो ३१ मीटर कायम हुनुपर्ने माग राख्दै आएका स्थानीयले अवरोध गरे ।

बाटो विस्तार गर्दा आफ्नो तर्फको एक टुक्रा जग्गा नदिने र बाटोका लागि रंगशालाका लागि छुट्याइएको जमीनतर्फ कै जग्गा काट्नुपर्ने माग स्थानीयको थियो । त्यसैले फाउण्डेशनले दक्षिणतर्फ सुरुमा जस्तापाताको बार लगाएको थिएन । बाटोलाई जग्गा दिँदा रंगशालाको क्षेत्रफल खुम्चिने र अपुग हुने फाउण्डेशनको भनाइ छ ।

विश्वविद्यालयले दिएको जग्गाको चौडाइ जम्मा २५० मिटर छ । रंगशालाको मैदानको डायमिटर नै १८० मिटर हुन्छ । त्यस बाहिर केही स्पेस दिएर प्याराफिट उठाउनुपर्दछ । त्यसैले बाटोका नाममा रंगशालाको जग्गा दिन नसकिने धुर्मुस सुन्तलीले बताउँदै आएका छन् ।

विवाद साम्य पार्न बाटोका लागि कम्तीमा १० मीटर जग्गा दिन भने फाउण्डेशनका अध्यक्ष धुर्मुस सहमत थिए । यस्तो अवस्थामा हाल ७ मीटर रहेको बाटोमा १० मीटर रंगशालालाई छुट्याइएको जग्गा र मात्र तीन मीटर स्थानीयको जग्गा छुट्याउन सकेको भए त्यहाँ २० मीटरको बाटो हुन्थ्यो ।

रामपुरको सडकमा समेत नछोएको त्यो भित्री बाटो जम्मा ४ सय मीटर लामो छ । फाउण्डेशनले त्यो विवाद सल्टाउन त्यहाँका अगुवाहरुसँग छलफल नगरेको पनि होइन । फाउण्डेशनका अध्यक्ष धुर्मुसले रंगशालालाई पनि बाटो आवश्यक पर्ने र डीपीआर बनेपछि त्यसको समाधान हुने आश्वासन दिएका थिए ।

स्थानीयलाई आश्वस्त पारेर धुर्मुसले रंगशाला निर्माणस्थलको सुरक्षाका लागि विश्वविद्यालयले तारबार गरेको ठाउँमा नै जस्तापाताको बार लगाउन सहमति लिएका थिए ।

तर, जेठ १५ गते एकाबिहानै स्थानीयको एक समुहले त्यही जस्तापाताको बार भत्काइदियो । त्यसपछि रोकिएको काम अझै सुरु हुन सकेको छैन । बरु १५ गतेको घटनाले धुर्मुस सुन्तली फाउण्डेसन र स्थानीयबीचको दुरी बढाएको छ । २ बर्षभित्र नेपालीलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला दिने भनेको फाउण्डेसनका पदाधिकारी अहिले रंगशाला निर्माणस्थलमा छैनन् ।

उनिहरुले स्थानीयको साथ र सहयोग बिना रंगशाला बन्न नसक्ने बताउँदै आएका छन् । सुरक्षाको प्रत्याभुती हुनुपर्ने, बार भत्काउनेलाई कारवाही गर्नुपर्ने फाउण्डेसनको माग छ । फाउण्डेसनका पदाधिकारीको यस्तो भनिरहँदा स्थानीयका समस्यालाई नजरअन्दाज गर्न मिल्ने अवस्था पनि छैन । उनिहरुका आफ्नै पिडा छन् ।

रंगलशालाको बार भत्काउने समुहको नेतृत्व गरेका प्रकाश कडेँल सहित सबैजना छुटी सकेका छन् । उनिहरुलाई कस्तो कारवाही भयो ? त्यो भने खुल्न सकेको छैन । प्रहरीको हिरासत मुत्त भएकाले भने रंगशाला निर्माणमा आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।

उनिहरुले भत्कीएको बार आफ्नै सकृयतामा फेरी बनाएर धुर्मुस सुन्तली फाउण्डेसनलाई दिने तयारी पनी गर्दैछन् । रंगशालाको बार भत्काउने मध्येका एकले हामीसँगको कुराकानीमा भनेका छन्, ‘रंगशालाको ढलेको बार त उठाउने हो उठाउँछौ, तर फाउण्डेशनका पदाधिकारी चितवनमा छैनन् ।’

रंगशाला कसरी बन्छ ? रकम अपुग भएको खण्डमा प्रचण्डले भने झै सरकारले सहयोग गर्छ गर्दैन ? स्थानीयको समस्या कसरी समाधान हुन्छ ? यी सबै अनुत्तरित प्रश्नको उत्तर भने आगामी घटनाक्रमले बताउलान् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology