Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

बर्माको कर्फ्यूमा फोटा खिच्दै हिँड्ने नेपालीभाषी पत्रकार

  • दीपक भट्टराई
  • सोमवार, जेष्ठ ६, २०७६
बर्माको कर्फ्यूमा फोटा खिच्दै हिँड्ने नेपालीभाषी पत्रकार

बर्मेली नेपाली

‘को कान्ता।’

समाचारमा रूचि हुने धेरै बर्मेलीले उनलाई यही नामले चिन्छन्।

नाम कमलकान्त लामिछाने हो। तर बर्मेलीलाई उच्चारण गर्न सजिलो हुने नाम बनाएका छन्, कान्ता।

नाम अगाडिको ‘को’ चाहिँ बर्मामा सम-उमेर वा आफूभन्दा दुई/चार वर्ष जेठा पुरुषलाई आदर गर्दा जोडिन्छ, ‘दाइ’ भनेजस्तै।

‘तपाईंको नाम ‘कान्ता’ को नेपाली अर्थ त सुन्दर स्त्री वा प्रेमिका हुन्छ नि,’ मैले भेट्नासाथ जिस्क्याएँ।

नेपाली बोल्दा कतै बिग्रिने पो हो कि भन्दै तौली-तौली बोलिरहेका लजालू स्वभावका कान्ताले मुस्कुराउँदै भने, ‘हो र दाइ?’

३४ वर्षका कान्ताले मलाई नभेट्दै फोनमा पनि ‘दाइ’ भन्न थालिसकेका थिए। त्यही बर्मेली ‘को’ को सिको हुनुपर्छ।

बर्मामा सशस्त्र समूहहरूको सबभन्दा धेरै गतिविधि हुने शान प्रदेशको लाश्योबाट द्वन्द्वका समाचार, तस्वीर र अडियो/भिडियोहरू सञ्चारमाध्यममा पठाइरहने पत्रकार हुन् कान्ता। त्यसैले समाचारमा रूचि राख्ने बर्मेलीबीच कान्ता चर्चित छन्।

सशस्त्र विद्रोहले आम मान्छेको जीवनमा कसरी भय र निराशाको जग बसाल्छ? मन मस्तिष्कमा डर-त्रास भरिदिएपछि मान्छे कसरी लागुपदार्थमा फस्छ, र त्यसबाट युद्ध व्यापारीहरूले कसरी फाइदा लिन्छन्?

कान्ताका थुप्रै रिपोर्टिङ युद्ध र लागुपदार्थसँग सम्बन्धित छन्।

सन् २०१८ मा उत्कृष्ट पत्रकारिता गरेको भन्दै कान्ताले अमेरिकी सरकारको एजेन्सी ‘फर ग्लोबल मिडिया’ नामक संस्थाबाट दुई हजार पाँच सय अमेरिकी डलर नगदसहितको ‘डेबिड ब्रुक अवार्ड’ पाए। पुरस्कार लिन वासिङटन डिसी पुगेर भर्खरै फर्केका कान्ताबारे बर्माका सञ्चारमाध्यममा चर्चा भइरहेकै छ।

प्रेस स्वतन्त्रता सूचीमा एक सय ३८ औं नम्बरमा रहेको बर्मा पत्रकारका लागि असुरक्षित देशमध्ये एक हो। केही वर्ष अघिसम्म कुनै पनि समाचार, लेख, रचना ‘सेन्सर’ गराएर मात्र छाप्नु पर्थ्यो। अहिले प्रकाशन/प्रशारण अगाडि सेन्सर त छैन, तर पछि के हुने हो, भर हुँदैन।

कान्ताका रोयटर्स समाचार संस्थामा काम गर्ने दुई साथी पाँच सयदिन जेलमा बिताएर भर्खरै छुटेका छन्। त्यो पनि सफाइ पाएर होइन। राष्ट्रपतिले बर्मेली नयाँ वर्षको उपलक्ष्यमा कैदीहरूलाई बाँकी सजाय भुक्तान गर्न नपर्ने गरी आममाफी दिएकाले।

त्यसमाथि उत्तरी शान प्रदेशमा पत्रकारिता अझै अप्ठ्यारो छ। स्वतन्त्र जातीय राज्यको माग गरी पाँच-पाँच वटा सशस्त्र समूह राष्ट्रिय सेनासँग मात्र हैन आफू-आफूमै पनि लडिरहेका छन्।

कान्तालाई कहिले कुन समूहले, कहिले कुन समूहले आफ्नाविरुद्ध समाचार लेखेको आरोप लगाइरहन्छ।

‘मेरा धेरै समाचार युद्धका चपेटामा परेका यहाँका मान्छेले पाएका दुःखका हुन्छन्। त्यसमा कहिले कुनै सशस्त्र समूह त कहिले सरकारी सुरक्षाकर्मी मुछिइहाल्छन्। अनि त्यस्तो आरोप लागिहाल्छ नि,’ यसो भन्दै गर्दा कान्ता ढुक्क देखिन्छन्।

कान्ताको पछिल्लो चिन्ता अर्कै छ। उनी जुन घर भएको कम्पाउन्डमा डेरा गरेर बस्छन्, अहिले त्यही कम्पाउन्डमा ‘पलाङ राज्य स्वतन्त्र सेना’ नामक सशस्त्र समूहले कार्यालय राखेको छ। त्यसैले अन्य जातीय सशस्त्र समूहहरू ‘शान स्टेट प्रगितिशल आर्मी,’ ‘स्वतन्त्र कचिन आर्मी,’ ‘शान स्टेट आर्मी,’ राष्ट्रिय सेनाले कतै यो कान्ता पलाङको मान्छे त होइन भन्ने शंका गरेका छन्।

पहिले ‘रेडियो फ्री एसिया’मा सँगै काम गरेका कान्ताका हितैषी च स लिनले मलाई सुनाए, ‘एकदम जोखिम ठाउँमा बसेर द्वन्द्वको रिपोर्टिङ गरिरहेकाले उसको समाचारमा मान्छेको चाख छ। तर उसलाई केही हुने हो कि भन्ने डर लागिरहन्छ।’

केही महिनाअघि मात्र कान्ताले एक सशस्त्र समूहका नाइकेले सर्वसाधारणमाथि गरेको ज्यातदतीको समाचार पठाए। सडकमा ढाट राखेर मनपरी ट्याक्स (चन्दा) उठाउने सशस्त्र समूहलाई एक जना गाउँलेले चन्दा दिने बेलामा गलफती गरेछन्।

ती नाइकेले जानीजानी ती गाउँले सवार मोटरसाइकललाई गाडीले हानेर धन्न मारनेन्। कान्ताको त्यो समाचार प्रकाशित भएपछि, ती सशस्त्र समूहका कमान्डरले कान्तालाई नै भौतिक आक्रमण गर्ने धम्की दिए।

कान्ता दुई साता विस्थापित भए। लाश्योबाट करिब नौ सय किलोमिटर परको रंगुन सहर गएर सञ्चारमाध्यमको शरणमा बसे।

‘बर्मामा मैले अरु त कोही नेपालीभाषी पत्रकार देखिनँ। तपाईं कसरी यो पेशामा लाग्नुभयो?’ मैले सोधेँ।

कान्ता खासमा नेता हुन चाहन्थे।

‘ठूल्दिदीको पार्टी नेशनल लिग फर डेमोक्रेसीमा लागेर पनि हिँडेको हो। तर जुन काम गर्न पार्टीका नेतालाई धेरै समय लाग्थ्यो, त्यही काम एउटा पत्रकारले छिटो गर्न सक्ने देखेँ। त्यसैले यसमा लागेँ।’

बर्मेली नेपालीहरूले नेता आङसाङ सूचीलाई ‘ठूल्दिदी’ भन्छन्। सर्वसाधारण बर्मेली पनि आङसाङ सूचीलाई ‘आमा’ वा ‘दिदी’ नै भन्न रुचाउँछन्।

नेताले गर्न नसक्ने तर पत्रकारले गर्न सक्ने के काम होला भन्ने लाग्यो।

उनले ‘उपमा’ दिए।

बर्मेली भाषामा उदाहरणलाई उपमा भनिन्छ। पाली भाषाबाट सापट लिइएका धेरै शब्द बर्मामा प्रयोग हुन्छ।

‘यहाँ कतिले नागरिकता पाएका छैनन्। नेतालाई भन्यो भने महिनौं लाग्छ। अझ सरकारी अधिकारीलाई भने वर्षौं लाग्छ। उनीहरू माथि-माथि भन्दै केन्द्रसम्म पहिले निवेदन पुर्‍याउँछन्। त्यसपछि माथिको आदेश कुरेर बस्छन्। त्यो आदेश आएपछि मात्र काम बन्छ। मैले त्यस्ता समाचार लेखेर राष्ट्रिय सञ्चारमाध्यममा आएपछि तुरुन्तै नागरिकता बनेको उदाहरण छ।’

कान्ता ठाउपो, लाश्योमा जन्मेका हुन्। कान्ताका बुबा बर्मेली सेना थिए। सेनाको क्वार्टरमै यिनको जन्म भयो। सैनिक विद्यालयमै अध्ययन गरे।

‘नेपाली बस्तीमा भए पो नेपाली बोल्न सिकिन्थ्यो। सैनिक ब्यारेकमा हुर्केँ। नेपालीभाषी साथी भएनन्। मेरो भाषा नै बर्मेली भयो,’ कान्ताले पत्रकारितामा आउने एक मात्र नेपालीभाषी हुनुको अर्को कारण खोले, ‘यहाँ पत्रकारिता गर्न बर्मेली भाषा राम्रो हुनुपर्‍यो। त्यसले पनि अन्य नेपालीभाषी पत्रकारितामा नआएका हुन् कि?’

अर्को त रूचि र साहसको कुरा पनि हो। राजनीतिका कुरा गरेको सैनिक शासनले देखी नसहने बेला थियो। अहिले पनि छ।

कान्ताले मलाई अर्थ्याए, यहाँका अल्पसंख्यक नेपालीभाषीलाई राजनीति र समसामयिक घटनाक्रममा रूचि लिइयो भने कुन दिन जेल परिन्छ कि, देशबाट लखेटिनुपर्छ भन्ने त्रासले सँधै गाँजिरहन्छ।

कान्ताका बुबा नेपालीभाषीको बाक्लो बस्ती भएको पहाडी भाग टाउँज्जीका हुन्। सैनिकमा भर्ति भएपछि उनी श्रीमतीको माइती गाउँ लाश्योमा काम गर्न पुगे र उतै बसे। कान्ताका बुबा दम रोगले बितेको १२ वर्ष भयो। आमा बितेको २४ वर्ष। दुई दाजु र एक दिदीका कान्छा भाइ कान्ताले दस वर्ष छँदै आमा गुमाएका थिए।

‘आमा बितेसँगै घरमा काल पस्यो दाइ,’ कान्ताले परिवारमा आएको वियोगको कथा बाँडे।

सानैमा पेटको विरामीले थला परेका उनका जेठो दाइलाई डाक्टरले गलत औषधि र सुई दिएछन्। गलत औषधिको परिणाम कान्ताका दाइलाई मस्तिष्क पक्षघात भएछ।

कान्ताले दस वर्षसम्म ती बिरामी दाइको सेवा गरेछन्।

‘खाना खुवाउने, दिशा-पिसाब सोहोर्ने, नुहाइधुवाइ सबै गरिदिनुपर्थ्यो,’ उनले सुनाए।

दाइ बुबा बित्नुभन्दा चार वर्ष अगाडि बितेछन्। त्यसअघि नै कान्ताकी दिदी मुटुरोगले बितेकी थिइन्।

आमा, दिदी, दाइ र बुबाले पालैपालो उनलाई छाडेर गए। सबैको उपचार खर्चका लागि उनले घर बेच्नुपर्‍यो।

कान्ता आफैं पनि शारिरीक अपांगतासँग जुधिरहेका छन्।

उनको गोलीगाँठा नजिकबाट खुट्टा फर्किएको छ। पैतालाले टेक्न मिल्दैन। उनी उल्टो पट्टीबाट टेक्छन्।

‘२५ वर्षअघि ३० हजार च्याटमा किनेको घरबारी थियो। सबैको उपचार खर्च जुटाउन १० लाख च्याटमा बेच्नुपर्‍यो,’ कान्ताले पीडा पोखे, ‘अहिले त त्यो घरलाई चार सय लाख च्याट पर्छ। खासमा सुखी हुन केही चाहिँदैन। घर परिवारमा कोही बिरामी नभइदिए पुग्छ। घरमा दीर्घरोग पसेपछि दु:खले एकपछि अर्को गाँज्दै लानेरहेछ।’

‘बुबाको पेन्सन आउँदो हो नि त सेनाबाट?’ उनको आर्थिक स्थितिबारे थप उत्सुक भएँ।

‘बुबा बाँचुञ्जेल आएको पेन्सन उहाँकै उपचारमा खर्च हुन्थ्यो,’ कान्ताले बिरामी परिवारको कथा दुई दसकसम्म भोगेका छन्।

‘पहिले-पहिले धेरै नेपालीहरू बर्मेली सेनामा भर्ती हुन्थे। अहिले कम हुँदै गएका छन् है,’ मैले प्रसंग मोडेँ।

‘दुई सय जति छन् होला गोर्खालीहरू पल्टनमा। पहिलेजस्तो गोर्खालीलाई सेनाले भर्ती पनि लिँदैन र गोर्खालीहरू पनि जाँदैनन्,’ कान्ताले कारण खोले, ‘अन्य जातीय समूहहरूले ससश्त्र समूह बनाएपछि बर्मेलीमा अन्य जातिको विश्वास घट्दै गयो। गोर्खालीसँगै अन्य जाति विशेषका पल्टनहरू तीस वर्ष अगाडि खारेज गरिए। सेनामा बर्मेलीको मात्र पदोन्नती भयो र संख्या पनि बर्मेलीका मात्र थपिए।’

किशोर वयसम्म सैनिक ब्यारकेमा बिताएका कान्ताले गोर्खाली भएकाले विभेद भोग्नुपरेको महशुस गरेनन्।

‘हाम्री आमाले पकाएको सेलरोटी सैनिक अधिकृतहरूले खुब रुचाउँथे,’ उनले पुराना दिन सम्झिए।

उनका माइला दाइको भोगाइ भने भिन्न छ।

कान्ताका माइला दाजुले बाबुको बाटो समातेका थिए। बर्मेली सेना भए। स्नातकोत्तरसम्म अध्ययन गरेका उनी हवल्दारभन्दा माथिल्लो पदमा पुगेनन्। पटक-पटक अनुरोध गर्दा उनले चाहेको लाश्योमा सरुवा पनि भएन। विभेदमा परेको महशुस गरी दस वर्ष काम गरेपछि सैनिक जीवन छाडिदिए।

सेनाबाट बाहिरिएपछि दाइले भिक्षु जीवन ग्रहण गरे। बौद्धमार्गी देश बर्मामा नेपालीभाषी बर्मेलीहरू पनि हिन्दु धर्म छाडेर बौद्धमार्गमा लाग्नेहरू बढ्दै गइरहेका छन्।

कान्ताका माइला दाजु अहिले मोगोकको बौद्ध बिहारमा बस्छन्। ‘पाली’ भाषा अध्ययन गरिरहेका छन्।

‘सेनामा अफिसर हुन नपाएपछि र एकपछि अर्को परिवारको सदस्य गुमेपछि दाइ मानसिक रुपमा कमजोर हुनुभयो,’ कान्ताले दाइ भिक्षु हुनुको कारण व्याख्या गरे।

रोग, शोक र गरिबीको पारिवारिक वियोगले कान्ताको अध्ययन अगाडि बढेन। दस कक्षा पास गरेपछि क्याम्पस जानुभन्दा घरमा आर्थिक भरथेग गर्नतिर लागे। तरकारी बेच्न थाले। एक वर्षसम्म तरकारी बेच्दै गर्दा बचेको केही समयमा कम्प्युटर सिके।

कान्ताको लगन र परिश्रमबाट परिचित एक जना नेपालीभाषीले १३ वर्ष अगाडि उनलाई मान्डले सहर लगे।

‘रामबहादुर कार्की दाइले चीनबाट आयात गरेका जुत्ताचप्पल पसल-पसलमा बेच्दै हिँड्थे। उहाँसँगै काम गरेँ र मान्डले बस्दा नै नेपाली भाषा सिक्न पाएँ,’ कान्ताले नेपाली बोल्ने र पढ्ने गरे पनि लेख्न असहज मान्छन्।

व्यापारमा दुई वर्ष भिजेपछि कान्ताले जुक्ति निकाले, ‘अब सधैं अर्काकोमा काम गरेर भएन। आफ्नै केही गर्नपर्‍यो।’

लाश्योबाट चीनको सिमाना मुसे करिब तीन सय किलोमिटर पर छ।

अरुले झैं उनले पनि चीनको न्याउसोबाट सामान ल्याएर बेच्न थाले। जानेको त्यही जुत्ताचप्पल व्यापार थियो। त्यसैमा लागे।

त्यही बेला उनले द्वन्द्वका पीडा महशुस गरे।

सामान लिन जाँदा र व्यापार गर्दै गाउँगाउँ डुल्दा कान्ताले सशस्त्र समूहहरूका गतिविधि देखे। दोहोरो गोली हानाहान भएका बेला कतिपटक सडक नजिकको नालमा लुकेर आफ्नो ज्यान जोगाए।

कान्ताले आफ्ना भोगाइ र गाउँलेका पीडा एउटै घरमा डेरा बस्ने वकिललाई सुनाउँथे। पत्रिकामा लेख लेख्ने वकिलले यी तिम्रा अनुभव र गाउँलेका कुरा समाचार बन्छ भनेर हौस्याए। कान्ताले आफूले जानेका कुरा लेख्न थाले। वकिलले कान्ताले लेखेका समाचार पत्रिकामा छापिदिन थाले।

बिस्तारै कान्ताको बहीखाता पैसाको हिसाब-किताबभन्दा बढी मान्छेका समस्याले भरिन थाले। उनको रस व्यापारबाट पत्रकारितातिर बढ्न थाल्यो।

कान्ताको पत्रकारितामा रूचि जाग्नु अर्को कारण पनि छ।

कान्ताको बुबाको रेडियो सुन्ने बानी थियो। सरकारी रेडियो-टिभीमा ‘विदेशी समाचार संस्थाले देशलाई टुक्र्याउँछन्, हामी हामीमा भिडाउँछन् त्यसैले बिबिसी, भ्वाइस अफ अमेरिका, रेडियो फ्री एसिया सुन्न हुँदैन’ भन्ने विज्ञापन बजिरहन्थ्यो।

कान्ताका बुबा भने लुकीलुकी रेडियोमा तिनै बिबिसी, भ्वाइस अफ अमेरिका, रेडियो फ्री एसिया सुनिरहन्थे। कान्ताको मनमा सानैदेखि गढेका ती रेडियोमा बोल्ने पत्रकारकै कारण पनि आफू पत्रकार बनिएको हो भन्ने लाग्छ।

कठोर सैनिक शासनको अनुभव गरिरहेका कान्तालाई रेडियोमा स्वतन्त्रता र प्रजातन्त्रका कुरा सुन्दा विद्यार्थीकालमै राजनीतिमा लागेर हिँड्ने मन थियो।

‘मेरा कारणले सैनिक बुबालाई दुःख हुन्छ भनेर मात्र म थामिएँ,’ कान्ताले सुनाए।

न कहिल्यै पत्रकारिता अध्ययन, न कुनै तालिम। अभ्यासबाटै पत्रकारिता सिक्दै र खारिँदै आएका हुन् कान्ता। उनले वातावरणीय पत्रकारिताबारे दुई साता लामोबाहेक कुनै तालिम लिएका छैनन्।

‘अचेल पत्रकारलाई तालिम दिन पो बोलाउँछन् त दाइ,’ फेरि लजाए कान्ता। उनले युद्धका बेला कसरी गलत समाचार आउँछ भनेर भोगेका छन्। त्यो अरु पत्रकारलाई शिक्षा हुँदो रहेछ।

‘युद्धमा अफवाह धेरै फैलिन्छ। युद्धका विभिन्न पक्षले आफ्नो हितअनुसारको समाचार मात्र पत्रकारलाई दिन्छन्। सुरक्षा र विविध कारणले घटनाको वास्तविकतासम्म पत्रकार पुग्न सक्दैनन्। युद्धरत पक्षले जे दावी गर्‍यो त्यही समाचार दिँदा गलत समाचार प्रकाशन भइरहेको हुन्छ,’ कान्ता द्वन्द्व बेलाको पत्रकारिता बुझाइरहेका थिए।

यहाँको जातीय सशस्त्र द्वन्द्वमा नेपालीभाषी बर्मेली कहाँ छन् भन्ने मेरो उत्सुकता थियो। कान्ताले ‘गाई चराउन गएका पुरन थापा कसरी बारुदी धरापमा परी मरे’ भनी सुनाए।

‘सशस्त्र समूहले पैसा मागेरै हैरान पार्छन्। चन्दा नदिँदा के हुने भनेर वर्षको तीन-चार लाख च्याट (करिब तीस-चालिस हजार नेपाली रूपैयाँ) सशस्त्र समूहलाई बुझाउने नेपालीहरू छन्,’ कान्ता लडाइँ भइरहेका ठामका गोर्खालीबारे बताइरहेका थिए, ‘सरकारी सेना वा सशस्त्र समूहले कहिले समान बोकाउने भरिया त कहिले मानव ढाल बनाएर आफूसँगै हिँडाउछन्। दुईतर्फको लडाइँ चलेपछि बस्ती छाडेर भाग्न बाध्य गोर्खालीहरू थुप्रै छन्।’

यस्ता नेपालीभाषी बर्मेलीका बारेमा यहाँका नेपाली संघसंस्थालाई कान्ता जानकारी दिन्छन्। यिनैको खबर पाएपछि लडाइँको चपेटामा परेका नेपालीलाई यहाँका संघसंस्थाले सहयोग गर्छन्।

कान्तासँग तीन घन्टा बिताइसकेपछि मैले सोधेको थिएँ, ‘पत्रकारितामा नाम कमाइसक्नुभयो, भविष्यमा के गर्ने योजना छ त?’

‘बर्मामा दुई लाख जति गोर्खाली छौं। तिनको आवाज व्यक्त गर्ने थलो छैन। गोर्खाली भाषा बोल्ने रेडियो-टिभी खोल्ने सपना छ दाइ,’ कान्ता मुस्कुराए।

बर्मेली चिया दुकानबाट कान्तासँग बिदा मागेर हिँड्न आँटेको थिएँ।

‘यहाँ सहरमा जस्तो ट्याक्सी पाइँदैन। तपाईंलाई होटलसम्म मेरो साथीले छोड्दिन्छ है,’ भन्दै कान्ताले मलाई राम पोखरेलको जिम्मा लगाइदिए।

‘कान्ता अलि जन्ड स्वभावका छन्,’ कान्तासँगै छुट्टिएपछि पोखरेलले मलाई एउटा घटना सुनाए।

‘लाश्योमा एक जना बर्मेली महिलालाई एक जना मुसलमान केटाले पेट्रोल छर्केर आगो लगाउन कोशिश गरेपछि सन् २०१३ मा दंगा फैलियो। बौद्धमार्गी बर्मेलीले मुसलमानका घर, पसल र मस्जिद आगो लगाउँदै हिँडे। हामी सबै लुकेर घरभित्र बस्यौं। कान्ता भने फोटो खिच्दै हिँडे। सरकारी कर्फ्यू थियो। मुसलमान देख्यो कि बौद्धमार्गीले मार्ने डर थियो।’

कान्ताले खिचेका मस्जिद आक्रमणका फोटा चर्चित भए।

अनि पोखरेलले सोधे, ‘पत्रकारलाई समाचार पाएपछि केही चाहिँदैन हो? न अहिलेसम्म बिहे गर्‍याछन्, न घरजग्गा, सम्पति जोडेका छन्। खाली समाचारका पछि मात्र दौडन्छन् कान्ता। नेपालमा पनि पत्रकार यस्तै हुन्छन्?’

-सेताेपाटीबाट साभार

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology